५७ मेगावाटको म्याग्दी खोलामा ऊर्जा डेभलपर्सले लगानी गर्ने

urja developers myagdi

काठमाडौं । ऊर्जा डेभलपर्सले म्याग्दीको धौलागिरी गाउँपालिकामा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । प्रवर्द्धक हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको आयोजनामा लगानी गर्ने भएको हो ।

आयोजनामा लगानी गर्ने विषयमा ऊर्जा डेभलपर्स र हाइड्रो भिलेजबीच सम्झौता भएको छ । सम्झौतापत्रमा हाइड्रो भिजेलकातर्फबाट अध्यक्ष रामेश्वर थापा र ऊर्जा डेभलपर्सका तर्फबाट अध्यक्ष विजय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार दुवै कम्पनीको सयुक्त उपक्रममार्फत आयोजना निर्माण गरिनेछ । आयोजना सम्पन्न गर्न १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा कूल लागतको ७५ प्रतिशत लगानी बैंकले गर्नेछन् । बाँकी २५ प्रतिशत स्वपूजी लगानी रहनेछ ।

धौलागिरि गाउँपालिकाको दोभानमा आयोजनाको बाँध निर्माण हुनेछ । बगर भन्ने स्थानमा विद्युतगृह निर्माण हुनेछ । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक ३३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको बनखेत सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

Source: Urja Khabar